नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको जनाउँदै यहाँ पनि मूल्य बढाउने निर्णय गरेको हो । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको छ ।
जसअनुसार डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मट्टितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।