नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारीलाई मध्यनजर गर्दै विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न तहमा सञ्चालन हुन गइरहेका परीक्षा स्थगित गर्न प्रस्ताव गरिने बताएका छन् ।
सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजनाबारे स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विद्युतीय (भर्चुअल) पत्रकार सम्मेलनमा बोल्दै उनले आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाको नतिजा प्रकाशन गर्नेगरी परीक्षा स्थगित गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारीमा आफू रहेको बताएका हुन् । यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय भने जतिसक्दो छिटो परीक्षा सम्पन्न गर्ने तयारीमा जोड दिइरहेको छ ।
मन्त्रालयले हिजो मात्र राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुको बैठक बोलाई स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा नियमित रुपमा सञ्चालन गर्नेबारे छलफल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले पनि शिक्षा मन्त्रालयसँग परीक्षा निर्वाध रुपमा सम्पन्न गर्नेबारे छलफल भएको तर परीक्षा स्थगनको प्रस्तावबारे कुनै जानकारी बोर्डलाई नरहेको बताए । परीक्षा स्थगित गर्ने प्रस्तावबारे असन्तुष्टि जनाउँदै उनले भने, “यतिका सपिङ मल खोल्न हुने, यातायात चल्ने अनि कक्षा १२ को परीक्षा गराउँदा कोभिड हुने हो र ?,” उनले भने, “सरकार खोप चाहिँ स्टोर गरी राख्ने ? अनि महामारी हुन्छ भनेर गतिविधि बन्द गरेर हुन्छ ?”
Tags:
News