बासु श्रेष्ठ, भर्जिनिया
महाकवि स्व.लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकी देश विदेशमा रहेका साहित्यप्रेमी नेपालीहरुले बडो सदभाव र सकृयताका साथ मनाए। कतै सप्ताहव्यापी त कतै एकदिने कार्यक्रम मनाए। कतिपय ठाउँमा अझै मनाउने उपक्रम चलिरहेको छ। कतिले देवकोटाप्रति लेख, आलेखको माध्यमबाट श्रद्धाञ्जली व्यक्त गरे। यो देवकोटाप्रतिको असीम श्रद्धा र नेपाली साहित्यपतिको लगाव र प्रेमको द्योतक हो भन्नुपर्ला।
महाकविले नेपाली साहित्यको उत्थान र विकासको लागि गरेका योगदानको कदर र सम्मानको लागि हामीले जति गरेपनि कम हुन्छ। अहिलेसम्म हामीले देवकोटाको सम्झनामा जे जति गर्दै आइरहेका छौँ, त्यो अति न्यून र सतही श्रद्धाञ्जली हो भन्ने मलाई लागेको छ। वर्षमा एकदिन लक्ष्मी पूजाको दिन महाकविलाई मानवतावादी, ईश्वरवादी, प्रकृतिवादी आदिआदि भनेर सम्झिन्छौँ र भाइटिकाको दिनदेखि अर्को एक वर्षको लागि चुप हुन्छौँ।
देवकोटाको सम्झनामा आफ्नो नाम या संस्थाको स्वार्थको खोज गर्नेहरु थुप्रै छन्। त्यसैगरी कतिपयले देवकोटाको नाममा परर्र ताली खाने बोली बोल्छन् तर मञ्चबाट ओर्लिनासाथ सबै कुरा बिर्सन्छन्। यथार्थमा भन्ने हो भने देवकोटा लगायत अन्य साहित्यकारका बारेमा यसैगरी बोलेर कतिपय वक्ता साहित्यकारहरु क्षणिक ताली खाने काम गर्छन्। आफूले बोलेको विषयको कार्यान्वयन हुन्छ हुन्न, पुरा हुन्छ हुन्न त्यसप्रति वक्ताको ध्यान जानुभन्दा सभाको माहौलमा ताली कसरी खाने भन्ने विषयमा ध्यानमग्न बनेका पाइन्छन्।
यसै सम्बन्धमा वासिङटन डिसी क्षेत्रको एउटा घटना मेरो मानसपटलमा अझै ताजा रहेको छ। दुई वर्ष अघिको कुरा हो। सन्दर्भ थियो भानु जयन्ति। त्यस कार्यक्रममा एक जना साहित्यकार मित्रले दुई वर्षभित्र भानुको शालिक अमेरिकाको वासिङटन डिसी क्षेत्रमा स्थापना गरेर छाड्ने उदघोष गरे। तर बिना कुनै योजना गरिएको त्यो उदघोष आजसम्म त्यत्तिकै रहेको छ र यसको सुरसार अझै कहीँ कतै देखिएको छैन। जबकि त्यस कार्यक्रमको केही दिन अगाडि रम्घास्थित भानुको घर भत्किएको समाचार प्रकाशमा आएको थियो। तर त्यसबारेमा एक शब्द कसैले खर्चेनन्। बरु वर्षेनी गरिँदै आएको एकैनासको तालिकामा भानु जयन्ति सम्पन्न भयो। म भने यो भानुप्रतिको सम्मान थियो या अपमान थियो, साहित्यकार भनाउँदाहरुको नाम कमाउने लालच थियो कि आदत थियो भन्ने विषयमा आज पनि घोत्लिइरहेको छु।
यसैगरी एकतिर हामीले देवकोटाप्रति गोहीका आँसु चुहाउँछौ भने अर्कोतिर देवकोटाका रचनामा राजनीति गर्दछौ। हामीले देवकोटाका नाममा राजनीति गर्दछौँ। यो हाम्रो चरित्र हो। नभए देवकोटाका अप्रकाशित पाण्डुलिपीहरुको प्रकाशनबाट आउने पहिलो आम्दानी आफूले पाउनु पर्ने भनेर पाण्डुलिपी खोकिलामा राख्नेहरुले लालच किन पालेर बसेका छन्? त्यही लालचका कारण त्यस्ता अमूल्य रचना प्रकाशनबाट वञ्चित भइरहेको छ। पाठक ती रचना पढ्नबाट वञ्चित भएका छन्। के नैतिक रुपले देवकोटाका ती रचनाहरुमा तिनको स्वामित्व छ? छैन। यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने यसरी देवकोटाका पाण्डुलिपी च्यापेर बस्ने ती व्यक्तिहरु पक्कै शिक्षित र सम्मुनत छन्। तिनलाई ती पाण्डुलिपीको महत्व थाहा छ र त त्यसबाट आउने आम्दानीको लालच गर्छन्। तर अर्कातिर यिनै व्यक्ति देवकोटा उपर अनेक भाषण र प्रवचन दिँदै पक्कै हिँडेका हुनन्। कसैको कृतिबाट हुने आम्दानी आफूले खोज्ने यो कस्तो नकच्चरापन होला?
वासिङटन डिसीमा अक्टोबर ३ देखि ९ सम्म हामीले मनाउँदै गरेको सप्ताहव्यापी देवकोटा शतवार्षिकी कार्यक्रमको मध्य सप्ताहमा प्रकाशित भएको देवकोटाको घर सम्बन्धी समाचारलाई मैले मेरो लागि एक गतिलो थप्पडको रुपमा लिएँ। त्यसैले त्यस सप्ताहव्यापी विभिन्न कार्यक्रम मध्येको विशेष कवि गोष्ठिमा धन्यवाद ज्ञापन गर्ने क्रममा हाम्रो यो काम सराहनीय भए पनि अपूरो र अधुरो तबसम्म रहन्छ जबसम्म देवकोटाको लागि कुनै एक ठोस कार्यक्रम ल्याउँदैनौ। अर्थात, देवकोटा संग्रहालयको निर्माण या देवकोटा पुस्तकालयको निर्माण या यस्तै कुनै ठोस काम नगर्ने हो भने सप्ताहव्यापी कार्यक्रम केही होइन। त्यसकारण हामी त्यस्तो ठोस कार्यक्रमतर्फ ध्यान दिनुपर्छ भनेको थिएँ।
त्यसैले मलाई के लागेको छ भने देवकोटाको घर, कोठा या उनबाट प्रयोग गरिएका कुनै पनि साधन, सामानहरुको संरक्षण र संवर्द्धन गर्न हामी विशेष गरी माइसंसारका पाठकहरु किन अघि नसर्ने? यस्तो कार्यमा एक व्यक्तिको प्रयासले केही संभव हुन्न तर सामूहिक रुपमा विश्वभर छरिएका हामी देवकोटाप्रेमी र साहित्यप्रेमी नेपालीहरु एक ढिक्का भयौँ भने यस्ता ठोस कार्यहरुको सम्भव होला कि? या यस सम्बन्धमा स्थापित कुनै सच्चा संस्था छ भने हामीले कसरी सहयोग गर्न सक्छौँ भन्नेमा चासो लिने हो कि? अनि मात्र देवकोटाप्रतिको हाम्रो सच्चा श्रद्धाञ्जली र सम्मान ठहरिने छ।